पुसदेखि ‘ए’ डिभिजन लिग हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०७९ सालदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिग यस वर्ष पुसदेखि नै सुरु गर्ने भएको छ।

धुलिखेलमा शुक्रबार भएको एन्फा साधारणसभाले २०८२ सालका लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा ‘ए’ डिभिजन लिग पुसदेखि गर्ने निर्णय गरेकोे हो। क्यालेन्डरअनुसार सहिद स्मारक ‘ए’ डिभिजन लिग पुस १ देखि २०८३ जेठ ३१ गतेसम्म हुने र महिला लिग भदौमा हुने तय भएको छ। यससँगै करिब तीन वर्षपछि नेपालको शीर्ष डिभिजन हुने आशा जागेको छ। जेठ ५ देखि २४ सम्म एन्फा प्रेसिडेन्ट लिग हुने भएको छ।

जेठ १८ देखि साउन १६ सम्म सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट, राष्ट्रिय लिग साउन १९ देखि असोज १० सम्म, ‘सी’ डिभिजन लिग पुस ६ देखि फागुन २५ सम्म हुने क्यालेन्डरमा उल्लेख छ। ‘बी’ डिभिजन लिग २०८० फागुन २० देखि २०८३ वैशाख ३१, एन्फा यु–१६ र यु–१८ लिग साउनदेखि कार्तिक सम्म आयोजना गरिनेछ।

यो वर्ष फुटसल लिग छनोट, ‘ए’ डिभिजन फुटसल लिग, नेपाल सुपर लिग, महिला फ्रेन्चाइज लिग, एन्फा अन्तरकलेज फुटसल च्याम्पियनसिप, एन्फा जिल्ला लिग, महिला फुटसल च्याम्पियनसिपलगात यतका प्रतियोगिता पनि क्यालेन्डरमा समावेश छन्।

नेपाली पुरुष टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण, एएफसी एसिया कप छनोट दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिप, नेपाल चीन मैत्रीपूण खेल, साफ यु–१७ च्याम्पियनसिप, एएफसी यु–२३ एसियन कप र साफ च्याम्पिनसिपमा सहभागिता जनाउनेछ। महिला टोलीले मैत्रीपूर्ण खेल, एसिया कप छनोट, साफ यु–२० च्याम्पियनसिप, एएफसी क्लब लिग, यु–२० एएफसी एसिया कप छनोट, साफ यु–१७ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको