काठमाडौं । काठमाडौं महानगरपालिकाले लगातार दोस्रो पटक उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको उपाधी जितेको छ ।
गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा सम्पन्न दोस्रो संस्करणको फाइनल खेलमा आयोजक गोदावरी नगरपालिकालाई सडन डेथमा ८–७ गोल अन्तरले हराउँदै साविक विजेता काठमाडौंले फेरी उपाधी जितेको हो ।
करिब ६ हजार दर्शकले प्रत्यक्ष रगशालाको प्राकृतिक प्याराफिटबाट हेरेको खेलमा निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन सकेन ।
खेलको पहिलो हाफमा काठमाडौं हाबी देखीएपनि दोस्रो हाफमा गोदावरीले गोल गर्ने केही अवसर चुकाएको थियो ।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
सुरुका ५–५ पेनाल्टि बराबर भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो ।
गत वर्ष सम्पन्न पहिलो संस्करणमा काठमाडौंले चन्द्रागिरी नगरपालिकालाई हराउँदै उपाधी जितेको थियो । यसपालि भने चन्द्रागिरी समूहचरणबाटै आउट भयो ।
काठमाडौंले पायो ५ लाख
उपाधिसँगै काठमाडौंले ५ लाख नगद र विश्वकै दुर्लभ चरा काँडेभ्याकुर अंकित सुनौलो ट्रफि पनि जितेको छ।
दुर्लभ चरा काँडेभ्याकुर नेपालको गोदावरी नगरपालिकाको बज्रबाराही र आसपासका जंगलमा मात्र पाइन्छ ।
यसैगरी उपविजेता बनेको गोदावरीले ३ लाख नगदसहित ट्रफि पुरस्कार पाएको छ । फाइनल खेलमा म्यान अफ दि म्याच काठमाडौंका गोलकिपर सुदीप गिरी भए ।
दोस्रो संस्करणमा अनुशासित टिम बनेको मध्यपुर ठिमी नगरपालिकाले ५० हजार नगद पायो।
सर्वोत्कृष्ट खेलाडी पासाङ, अरुण सर्वाधिक गोलकर्ता
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी गोदावरीका पासाङ तामाङ भए । उनी गत वर्ष प्रतियोगितामा इमर्जिङ प्लेयर भएका थिए । टोलीले फाइनलसम्म पुग्दा उनको योगदान महत्वपूर्ण रह्यो ।
प्रतियोगितामा सबैभन्दा बढी गोल गोदावरीका अरुण लामाले गरे । उनले सर्वाधिक ९ गोल गर्ने क्रममा सबै गोल समूह चरणमै संभव भएको थियो ।
अरुणले महालक्ष्मी नगरपालिका र बाग्मती गाउँपालिकाबिरुद्ध ४–४ तथा ललितपुर महानगरपालिकाविरुद्ध १ गोल गरेका थिए । सेमिफाइनल र फाइनलमा उनले गोल गर्न सकेनन् । यसअघिको संस्करणमा पनि क्बार्टरफाइनलबाटै बाहिरिएको कीर्तिपुरका यमन मर्हजनले सर्वाधिक ६ गोल गरेका थिए ।
प्रतियोगितामा इमर्जिङ प्लेयर गोदावरीका समिर तामाङ भए भने उत्कृष्ट गोलरक्षक गोदावरीकै विवेक सिलवाल भए ।
उत्कृष्ट डिफेन्डर काठमाडौंका सरोज तामाङ हुँदा उत्कृष्ट प्रशिक्षकको पुरस्कार काठमाडौंका प्रशिक्षक सन्तोष न्यौपानेले दोस्रो पटक पाउन सफल भए ।
उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्वाधिक गोलकर्ता, इमर्जिङ प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार नगद पुरस्कार प्रदान गरियो।