एरिका गुरुङले दिलाइन् नेपाललाई ऐतिहासिक कांस्य पदक


काठमाडौं ।  एरिका गुरुङले कराते वान प्रिमियर लिगमा  नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी छन् ।

मोरोक्कोको राबतमा आइतबार महिला ६८ केजीमाथी तौल समूह अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा एरिकाले फ्रेन्च खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले पराजित गरिन् । योसँगै उनी यो प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

एरिकाले पहिलो सहभागितामै यो सफलता हात पारेकी हुन् । एरिकाले सेमिफाइनलमा स्पेनकी मारिया टोरेस गार्सियासँग ५-५ को बराबरी खेलिइन्। तर उनी सेन्सुका आधारमा पराजित हुन पुगिन् ।

त्यसअघि एरिकाले टर्कीकी जेना गाबाला, इटालीकी क्लिओ फेराकुती, साइप्रसकी जिआमुकी ठेओदोसिया र इजिप्टकी हैदी महघुबलाई  पराजित गरेकी थिइन् ।

यो कराते लिग इभेन्टमा विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो । यसमा हरेक विधामा विश्वभरबाट उत्कृष्ट ३२ खेलाडीले मात्र सहभागी हुन पाउनेछन् ।

विश्व कराते महसंघको आयोजनामा हुँदै आएको यो प्रतियोगिता सन् २०११ देखि सुरु भएको हो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको