काठमाडौं । हङकङसँगको मैत्रीपूर्ण खेल र एएफसी एशियन कप २०२७ तेश्रो चरणको छनौट खेल खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा सोमबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, एन्फाका महासचिव किरण राई र प्रवक्ता सुरेश शाह लगायतले नेपाली टोलीलाई शुभकामनासहित बिदाई गरेका हुन् ।
यसअघि सोमरबार बिहान मात्रै मुख्य प्रशिक्षक म्याट रसले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरेका थिए । म्याट रसले मिडफिल्डरद्वय कुशल देउवा र सृजनराज गौतमलाई पहिलो पटक सिनियर टोलीमा समेट्दै अन्तिम टोली घोषणा गरेका थिए ।
नेपालले हङकङसँग उसैको घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल यही जुन ५ अर्थात् जेठ २२ गते बिहीबार हुँदैछ । हङकङ फुटबल संघले आयोजना गर्ने यो मैत्रीपूर्ण खेल आधिकारिक फिफा अन्तर्राष्ट्रिय खेल क्यालेन्डर अन्तर्गत पर्दछ।
त्यसपछि नेपालले एएफसी एशियन कप २०२७ तेश्रो चरणको छनौट अन्तर्गत दोश्रो खेल १० जुनमा लाओससँग खेल्ने छ। यसैको तयारीका लागि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाली टोली मैत्रीपूर्ण खेलका लगि मंगलबार हङकङ प्रस्थान गर्ने र मैत्रीपूर्ण खेल खेलेपछि उतैबाट लाओस जाने एन्फाले जनाएको छ ।
नेपाली टोलीः
किरण चेम्जोङ (कप्तान) , रोहित चन्द, जिलेस्पिजंग कार्की, अनन्त तामाङ, अञ्जन विष्ट, अभिषेक लिम्बु, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, दीप कार्की, कृतिशरत्न छिन्जु, कुशल देउवा, मणिकुमार लामा, विशाल सुनार, मनीष डाँगी, लाकेन लिम्बु, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुवास बम ठकुरी, योगेश गुरुङ र सुमित श्रेष्ठ



