आजदेखि पोखरामा प्रचण्ड कप भलिबल, उद्घाटन खेलमा पुलिस र एपीएफ भिड्ने


पोखरा। प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन विभागीय डर्बीले गर्ने भएको छ।

आयोजक नेश्नल स्पोर्ट्स एकेडेमीले सोमबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै पहिलो खेलमा नेपाल पुलिस क्लब र एपिएफ क्लब भिड्ने जानकारी दिएको हो।

प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

आयोजक संस्थाका अध्यक्ष दिपक कोईरालाले जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए।

प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो एक समारोहकाबीच उद्घाटन गर्नेछन्।

प्रतियोगितामा नयाँ टोली स्टेप रामपुरलाई सहभागी गराईएको छ। विभागीय टिम आर्मीले सहभागी हुन नसक्ने जनाएपछि रामपुरलाई अवसर प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा रामपुरसहित न्यु डायमन्ड स्पोट्र्स क्लब, गण्डकी प्रदेश, एभरेष्ट भलिबल क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताको लिग चरणका खेल हेर्न २ सय र फाइनल दिनको खेल हेर्न ४ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ। उद्घाटन दिनमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष कोईरालाले बताए। पत्रकार सम्मेलनमा कोईरालाले नीजि तथा सरकारी क्षेत्रको सहयोगमा कार्यक्रमको आर्थिक पक्षलाई व्यवस्थापन गरिएको जानकारी दिए। प्रतियोगितामा अखिल नेपाल खेलकुद महासंघ समेत आयोजकको रुपमा जोडिएको छ भने राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघले प्रतियोगितालाई स्वीकृति प्रदान गरेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको