काठमाडौं। कीर्तिपुर नगरपालिकाकी एलिना थिङ र तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाल काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा मंगलबार फाइनलमा प्रवेश गरेका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा एलिनाले नागर्जुन नगरपालिकाकी बन्दना तामाङ तथा प्रसन्नले आयोजक काठमाडौं महानगरपालिका २६ की मिस्टी श्रेष्ठलाई पराजित गरे। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५÷५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
महिला टिम कुमुतेमा काठमाडौं महानगरपालिका ३१, तार्केश्वर र नागर्जुनले सेमिफाइनलमा स्थान सुरक्षित गरे। काठमाडौं महानगरपालिका ३१ ले तार्केश्वरसँग सेमिफाइनलमा खेल्ने छ। अर्को क्वाटरफाइनल हुन बाँकी छ। गोकर्णेश्वर र काठमाडौं महानगरपालिका १६ बीचको क्वाटरफाइनल विजेताले सेमिफाइनलमा नागर्जुनको सामना गर्ने छ।
पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार जित्ने छन्। महिलाको मात्र २ स्पर्धा समावेश प्रतियोगितामा ८० खेलाडी सहभागी छन्। प्रतियोगिता बुधबार सम्पन्न हुनेछ।
फुटसल
वृहत खेलकुदअन्तर्गत पुरुष फुटसलमा तार्केश्वर, वडा २३, वडा १६ र वडा ५ क्वाटरफाइनलमा पुगेका छन्। लैनचौर खेल मैदानमा तार्केश्वरले वडा १० लाई ३–१ गोलले पराजित ग¥यो। विजयी टिमका लागि सुनिल थापा र रविन चौलागाईंले समान १–१ गोल गरे। १ गोल आत्माघाती थियो। वडा २३ ले वडा १ लाई २–१ गोलले हरायो। वडा २३ का विशाल श्रेष्ठले गोल गरे। अर्को गोल आत्माघाती थियो।
वडा १ का गौरव महर्जनले १ गोल फर्काए।वडा १६ ले वडा ११ लाई २–० गोलले पाखा लगायो। वडा १६ का सुविल श्रेष्ठ र आयुश कुँवरले गोल गरे। वडा ५ ले वडा २ लाई २–० गोलले पन्छायो । पुस्कर आचार्य र राकेश श्रेष्ठले गोल गरे।
फुटसल, कराते, क्योकुसिन कराते, टेबलटेनिस र तेक्वान्दोसहित ५ खेल समावेश वृहत खेलकुदअन्तर्गत टेबलटेनिस सम्पन्न भइसकेको छ।


