काठमाडाैँ। आयोजक काठमाडौं महानगरपालिका वडा २६ ले काठमाडौं जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत क्योकुसिन कराते (आईकेयु) मा सर्वाधिक ३ स्वर्ण जितेको छ। पुरुषको मात्र ५ स्पर्धा समावेश प्रतियोगितामा क्योकुसिन बुदो र काठमाडौं महानगरपालिका वडा १२ ले समान १–१ स्वर्ण जिते।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको पुरुष २५ केजीमा बालकृष्ण बुढा, ४५ केजीमा रिखीधन राई र खुला तौलसमूहमा धनबहादुर विकले आयोजकलाई स्वर्ण दिलाए। बालकृष्णले आफ्नै वडाका इमानल मगर, रिखीधनले पनि आफ्नै वडाका कैलाश राना मगर र धनबहादुरले काठमाडौं महानगरपालिका २५ का गोविन्द बस्याललाई पराजित गरे।
पुरुष ३५ केजीमा क्योकुसिन बुदोका श्रृजन सुनुवारले काठमाडौं महानगरपालिका १२ का समरबहादुर दमाईं तथा ५५ केजीमा काठमाडौं महानगरपालिका १२ का सुसान तामाङले आफ्नै वडाका आशुतोष जैसवाललाई हराए। शीर्ष चार स्थानमा रहने खेलाडीले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे।
