काठमाडौं। एन्फा यु–१६ युथ लिगको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा लिग शुक्रबारदेखि सुरु हुन लागेको हो। एन्फा प्रवक्ता सुरेश शाहका अनुसार उपविजेता ५० हजार रुपैयाँ पाउने भएका छन्।
व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडीले समान १५ हजार पाउने छन्। यो उमेर समूहका खेलाडीलाई एक्सपोजर दिने लिग भएको कारण धेरै पुरस्कार रकम नराखिएको प्रवक्ता शाहले जानकारी दिए।
‘यो ठूलो प्रतियोगिता होइन र यसको लक्ष्य युवा खेलाडीलाई एक्सपोजर दिने मात्रै हो। सीमित स्रोत र साधनका बाबजुद प्रतियोगिता गर्न लागेका हौं। त्यसैले पुरस्कार रकम कम राखियो,’ उनले भने।
राउन्ड रोबिनका आधारमा खेलिने यस प्रतियोगितामा १४ वटै ‘ए’ डिभिजन लिग क्लबहरूको सहभागिता रहनेछन्। एन्फा अपिल समितिले निर्णय उल्टाएसँगै थ्री स्टार क्लबको सट्टामा एपिएफले नै लिग खेल्ने छ।
यीबाहेक साबिक विजेता चर्च ब्वाइज युनियन, मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी, हिमालयन शेर्पा, फ्रेन्ड्स क्लब, सातदोबाटो युथ क्लब, संकटा, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र एनआरटीले लिग खेल्नेछन्।
यता, यसै वर्ष शीर्ष डिभिजनमा उक्लिएका प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लबलाई पनि लिगमा स्थान दिइएको छ।
प्रतियोगिताको सहभागी प्रत्योक टिमलाई तयारी खर्चस्वरूप एन्फाले३ लाख ५० हजार प्रदान गरिएको शाहले जानकारी दिए। प्रतियोगिताको अनुमानित बजेट १ करोड २ लाख ३६ हजार ३३० रुपैयाँ रहेको छ।


