काठमाडौं। बंगलादेशले नेपालसँग हुने भनिएको २ मैत्रीपूर्ण खेल रद्द गर्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने जानकारी दिएको थियो। उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भनिएको थियो।
तर, बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ)को शनिबार बसेको बैठकले दक्षिण एसिया बाहिरको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हो।
बीएफएफ मिडिया समितिका अध्यक्ष आमिरुल इस्लाम बाबुका अनुसार तीन चार दिनमा मैत्रीपूर्ण खेल खेल्ने टोलीको घोषणा हुनेछ।
उनले बैठकपछि भने, ‘नेपालसँग खेल्नुका साथै यदि हामी अझ बलियो टोलीसँग पनि खेल्न सक्यौं भने त्यो राम्रो हुन्छ। अर्को एक बलियो टोली हामीसँग खेल्न मानिसकेको छ।’
यद्यपि, एकपटक बीएफएफले एन्फासँग सम्पर्क गर्नेछ। यदि एन्फा मानेको खण्डमा बंगलादेश अर्को टोलीसँग खेल्न जानेछ। बंगलादेशलाई भियतनाम र कम्बोडियाले मैत्रीपूर्ण खेल खेल्न आमन्त्रण गरिरहेको छ।
योसँगै नेपालको तयारी अन्योलमा परेको छ। एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा मलेसिया, लाओस र भियतनामसँग छ। समूह चरणमा नेपालले हालसम्म दुई खेल खेलेको छ। तर, दुवैमा हार बेहोरेको छ र अंक तालिकामा पुछारमा छ।
नेपालले अक्टोबर ९ मा समूह चरणको तेस्रो खेलमा भियतनामसँग उसको घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने तालिका छ।


