काठमाडौं । जर्मनीमा ६ देखि २७ जुलाईसम्म आयोजना हुने ३२ औं वल्र्ड समर युनिभर्सिटी प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई आईतवार एक कार्यक्रमको आयोजना गरि विश्व विद्यालय खेलकुद संघ नेपाल (उसान)ले विदाई गरिएको छ।
प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेप सदस्य जगतसिंह धामी, उसानका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच विदाई गरे।
३२औं वल्र्ड समर युनिभर्सिटी प्रतियोगितामा नेपालको तर्फवाट चार खेलका १५ खेलाडीले सहभागिता जनाउन लागेको अध्यक्ष पौडेलले जानकारी गराए।
टेबलटेनिसतर्फ गनन्जय दाहाल, रितिज जोशी र शिखा सुवाल श्रेष्ठ रहेका छन्। त्यस्तै ब्याडमिन्टतर्फ रोशन साउद, अनिल मल्ल, क्षितिज खनाल, आयुष्मा नेपाल र निशम हाङ्मा शेर्पा रहेका छन्।
यसैगरि एथलेटिक्सतर्फ पाल्देन पाख्रिन तामाङ र आयुश श्रेष्ठको सहभागिता रहेको छ भने तेक्वान्दोतर्फ अभिषेक बराल, अभिषेक डल्लाकोटी, रुपेश तामाङ, पुजन खड्का र रेजिना पार्कीले सहभागिता जनाउने छन्।
टोलीमा संंघका अध्यक्ष ज्ञानेन्द्र पौडेल, पूर्व डिन पूर्वाञ्चल विश्वविद्यालयका प्रा.डा. अनिलकुमार पोखरेल, वोर्ड सदस्य अशोक श्रेष्ठ र हेड अफ डेलिकेशनको रुपमा संघका महासचिव पूर्णसिंह बोहरा लगायत ८ पदाधिकारी सहित २३ जनाको सहभागिता रहनेछ।
सो अवसरमा गण्डकी विश्व विद्यालयका उप–प्रध्यापक एवं राखेपका सदस्य मधुसुदन सुवेदी, मध्यपश्चिम विश्व विद्यालयका उप–प्रध्यापक तेजबिक्रम बस्नेत र सिआईटीई प्रिन्सिपल इन्जिनियर सुघीर गुरागाईं पनि टोलीको सदस्य रहेको महासचिव बोहराले जानकारी गराए।
जर्मनीमा आयोजना हुने उक्त प्रतियोगितामा विश्वका १५१ राष्ट्रका ८ हजार ५ सय खेलाडीहरुको सहभागिता रहने संघले जानकारी गराएको छ।


