काठमाडौं। नेपाली टोलीकी फरवार्ड मीना देउवाले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा ह्याट्रिक पूरा गरेकाे खेलमा नेपालले सहज जित हासिल गरेकाे छ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मीनाकाे ह्याट्रिक प्ररित नेपालले श्रीलंकालाई ७–० ले पराजित गरेकाे हाे।
नेपालको जितमा मीनाबाहेक पूर्णिमा राईले २ गोल गरिन्। समीक्षा मगर र सरिता नाथको नाममा समान १ गोल रह्यो।
नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो। दोस्रो खेलमा भने बंगलादेशसँग पराजित भएको हो।
यो नतिजासँगै अंक तालिकामा दोस्रो स्थानमा रहेको नेपालले ३ खेलबाट ६ अंक पुर्याएको छ। समान खेलबाट बंगलादेशको ९ अंक छ। श्रीलंका भने जित र अंकविहीन रहँदै तालिकाको पुछारमा छ।
खेलको सातौं मिनेटमै नेपालले अग्रता लियो। त्यसको ६ मिनेटपछि नै नेपालले समीक्षाको गोलमा अग्रता दोब्बर बनायो।
४२औं मिनेटमा मीनाले अग्रता ३–० मा पुर्याइन्। त्यसपछि नेपालको प्रेसिङलाई श्रीलंकाले रोक्न सकेन र पहिलो हाफको इन्जुरी समयमा थप दुई गोल बेहोर्यो।
जारी प्रतियोगितामा मीनाको यो पहिलो ह्याट्रिक हो। यसअघि बंगलादेशविरुद्धको खेलमा सुरुआती ११ मा स्थान बनाएकी उनले १ गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन्। तर, अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल ३–२ ले पराजित भएको थियो।


