काठमाडौं, कात्तिक १४- चितवनको न्यु स्टार तेक्वान्दो डोजाङका प्रस्तुत आचार्यले प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ग्योरोगीमा स्वर्ण पदक जितेका छन्।
चितवनस्थित रत्ननगर नगरपालिकामा शनिबार भएको च्याम्पियनसिपमा प्रस्तुतले ग्योरोगीतर्फ क्याडेट पुरुष ३३ केजी तौलसमूहमा स्वर्ण पदक जितेका हुन् र
उनले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै अस्मिन थताललाई हराए। यसै तौल समूहमा सुभाष शाही ठकुरी र आदर्श भण्डारीले संयुक्त रूपमा कांस्य पदक जिते। नेपालकै करण धोलीले पनि ग्योरोगीमा स्वर्ण पदक जितेका छन्।
सिनियर पुरुष ५४ केजी तौल समूहमा करणले नेपालकै अंकित अंकित साहानीलाई हराउँदै स्वर्ण जिते। अंकितले पहिलो खेलमा भारतका असिफ हुसेन र सेमिफाइनलमा बोनका राउतलाई हराएका थिए। करणले बंगलादेशका मोहम्मद साहिन अली र नेपालकै अजय घर्तीलाई हराउँदै फाइनलमा यात्रा तय गरेका हुन्। फाइनलमा पनि उनी हाबी भए। यसै विधामा अजय घर्ति र रोनक राउत तेस्रो भए। सब जुनियर महिला यु–२६ केजी तौलसमूहमा आयोजकका साहिल मन्सुरले नेपालकै अभिमन्यु गजुरेललाई हराउँदै स्वर्ण जिते।
यसै विधामा भारतका अर्ष सोफियन कुरेस र नेपालका सुर्यान्सजंग न्यौपाने कांस्य जित्न सफल भए। सब जुनियर महिला २५ केजीमा दीपान्सी बायादीले स्वर्ण जितिन्। उनले फाइनलमा सार्वाना क्षेत्रीलाई हराइन्। यस तौलमा आत्मिका लिम्बू र चिरागी बस्याल कांस्य पदकमा नै सीमित भए। पुरुष सिनियर ५८ केजीमा नेपालका राजन लामाले स्वर्ण जिते। उनले फाइनलमा नेपालकै मोहमेद हुसेलाई हराए। यस विधामा नेपालकै कमल खड्का र अन्सुल परियारले कांस्य पदक पाए। सब जुनियर पुरुष २८ केजी तौलमा नेपालका सुप्रिम गुरुङले फाइनलमा नेपालकै सलिन अधिकारीलाई हराए।
पुरुष ५८ केजी तौलसमूहमा नेपालका मोहम्मद हुसेनले स्वर्ण जिते। उनले फाइनलमा रोजन लामालाई हराए। महिला ४६ केजीमुनि नेपालकी दीक्षा तामाङले स्वर्ण जितिन्। उनले स्वर्णको प्रतिस्पर्धामा नेपालकै रस्मिका गुरुङलाई हराइन्। यस तौलमा प्रकृति मल्ल र अञ्जली चौधरी स्वर्ण जिते। पुरुष पुम्से (१०–११ वर्षको समूह) कियानराज कटुवालले स्वर्ण, समर्थ केसी रजत तथा श्रवण गुरुङ र रयान अर्यालले कांस्य जिते। कियानले ६.९९ अंक र समर्थले ६.७१६ अंक ल्याए। यसै उमेरसमूहको महिलामा बितिशा तामाङले स्वर्ण जितिन्। उनले सर्वाधिक ७.३४ अंक ल्याइन। एरिक न्यौपानेले ६.९३३ अंक प्राप्त गर्दै रजत जितिन्।
यसै विधामा राज्बी श्रेष्ठ र मालाश्री महर्जनले कांस्य जिते। १४ देखि १४ वर्ष उमेरसमूहको पुम्सेमा नेपालकी रेवा काफ्लेले स्वर्ण र मुना थापाले रजत पदक जितिन्। रेवाले ६.९६६ र मुनाले ६.५९ अंक ल्याए। पुरुष १५ देखि १७ वर्ष उमेरसमूहमा बिसु राईले स्वर्ण, सचिन विकले रजत जित्दा अस्बिन लामा र शान केसीले कांस्य पदक जितेको आयोजक चितवन जिल्ला तेक्वान्दो डोजाङका प्रमुख रोशन खानले जानकारी दिए। च्याम्पियनसिपमा पुम्से र ग्योरोगी विधाअन्तर्गत विभिन्न उमेर तथा तौलसमूहमा प्रतिस्पर्धा हुँदैछ। नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायतका करिब आठ सय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले जानकारी दिए।
टिम च्याम्पियनले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका संयोजक प्रज्वल दवाडीले ग्यरोगीतर्पm सब जुनियर (९–११ वर्ष), क्याडेट (१२–१४ वर्ष), जुनियर (१५–१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) तथा पुम्सेमा गरी कुल ६४ स्वर्ण, ६४ रजत र १२८ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने बताए। प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले उत्कृष्ट पुम्से पुरुष, उत्कृष्ट पुम्से महिला, उत्कृष्ट ग्योरोगी पुरुष, उत्कृष्ट ग्योरोगी महिला, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने जानकारी दिए।