काठमाडौं। नेपालका सुनिल खड्काले एक मिनेटमा सर्वाधिक क्ल्याप पुल–अप्सको गिनिज विश्व कीर्तिमान बनाएका छन्।
उनले ३२ पटक क्ल्याप पुल–अप्स गर्दै यसअघि अमेरिकी नागरिकको नाममा रहेको कीर्तिमान आफ्नो नाममा ल्याएका हुन्। यसअघि सन् २०१५ मा अमेरिकाका ब्लेक अस्टिनले ३० पटकको कीर्तिमान कायम गरेका थिए।
काठमाडौँको त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलनमा सुनिल खड्काले यसबारे जानकारी दिए।
खड्काले क्यालिस्थेनिक्स विधा अन्तर्गत किर्तिमान रचेका हुन्। नेपालीहरूका लागि गर्वको क्षण भएको र नेपालका एथलिटहरु कुनै देशभन्दा कमजोर नरहेको बताए।
“मैले यसअघि यो कीर्तिमान १० वर्षदेखि कसैले तोड्न नसकेको पाए। आफू यही क्षेत्रमा भएको हुँदा प्रयास गर्छु भन्नेमात्रै सोच थियो। तर, कीर्तिमान नै आफ्नो नाममा ल्याउन सफल भए,” पत्रकार सम्मेलनमा खड्काले भने “कीर्तिमान बनाउनु नै मेरो लक्ष्य थिएन। तर, मेरो कीर्तिमानले नेपालका अरु युवा प्रेरित हुन् भनेर गरेर देखाए।”
२५ वर्षीय खड्का पेशाले एरोस्पेस इन्जिनियर हुन्। उनले अबको आफ्नो लक्ष्य क्यालिस्थेनिक्स वल्र्ड च्याम्पियनसिपमा च्याम्पियन बन्दै नेपालका झन्डा फहराउने रहेको बताए।


