एन्फा यु–१६ लिग: एनआरटी, चर्च ब्वाइज र जावलाखेलको जित


काठमाडौं। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न एन्फा यु–१६ युथ लिगअन्तर्गत तीन खेलमा न्युराे टिम एनआरटी, चर्च ब्वाइज युनाइटेड र जावलाखेल युथ क्लब विजयी भएका छन्।

दिनको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले हिमालयन शेर्पा क्लबमाथि २-० को जित निकालेको छ। चर्चलाई जित दिलाउन सुशन थापामगर र सुनिल दंगालले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा सुशनको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो।

प्रज्वलप्रताप क्षेत्रीले ६२औं मिनेटमा दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि हिमालयन शेर्पा १० खेलाडीमा समेटिएको थियो। सुनिलले ८०औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई सहज जित दिलाए।

जितसँगै ११ खेलबाट २० अंक जोडेको चर्च ब्वाइज छैटौं स्थानमा कायम छ। पराजित हिमालयन शेर्पा समान खेलबाट १४ अंकका साथ नवौं स्थानमा छ।

दिनको दोस्रो खेलमा एनआरटीले सातदाेबाटाेमाथि १-० ले विजयी भएको हो। एनआरटीको जितमा सुगम रानाले गरेको एकमात्रै गोल पर्याप्त बन्यो। उनले खेलको ४४औं मिनेटमा गोल गरेका थिए।

जितसँगै ११ खेलमा १२ अंक जोडेको एनआरटी १०औं स्थानमा उक्लिएको छ। ११ वटै खेलमा पराजित सातदोबाटो अंकविहिन छ।

दिनकाे अन्तिम खेलमा मछिन्द्र फुटबल क्लबविरुद्ध जावलाखेल युथ क्बले २-१ को जित दर्ता गरेकाे हाे।

जावलाखेललाई जित दिलाउन आर्यन नाथ र सुजन तामाङले गोल गरे। मछिन्द्रका लागि राहुलकुमार योञ्जनले गोल गरे।

खेलको ३७औं मिनेटमा राहुलको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो। ४८औं मिनेटमा आर्यनले जावलाखेललाई बराबरीमा ल्याए। इन्जुरी समयमा सुजनले गोल गर्दै जावलाखेललाई २-१ को रोमाञ्चक जित दिलाए।

जितसँगै ११ खेलमा १६ अंक जोडेको जावलाखेल आठौं स्थानमा उक्लिएको छ। पराजित मछिन्द्र समान खेलबाट २३ अंकका साथ तेस्रो स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको