नेपाल भुटानसँग बराबरीमा राेकियाे


काठमाडाैँ। एएफसी यू-२० महिला एसियन कप छनाेट अन्तर्गत समूह ए मा दाेस्राे खेलमा नेपाल र भुटान बराबरीमा राेकिएका छन्।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल घरेलु टाेलीसँग १–१ गाेलकाे बराबरीमा राेकिएकाे हाे।

खेलको ४० सेकेन्डमै नेपालले सेनुको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। सुक्रिया मियाको लामो क्रसलाई रोक्न भुटानी गोलकिपर अगाडि बढेकी थिइन्। तर, उनी चुक्दा सेनुले सहजै गोल गरिन्। यो प्रतियोगिताकै सबैभन्दा कम समयमा भएको गोल हो।

तर, १८औं मिनेटमा भुटान खेलमा फर्कियो। नाम्सेल वाङजोमको क्रसमा पेनाल्टी बक्सनजिकै नेपाली डिफेन्डरलाई बिट गर्दै केल्जेङले प्रहार गरेको बल खाली पोस्टमा गोल भयो। उनले उक्त बल प्रहार गर्नुअगाडि नै नेपाली गोलकिपर लिला जोशी आफ्नो क्षेत्रबाट निकै पर आइसकेकी थिइन्।

त्यसपछि बाँकी समय थप गाेल हुन नसकेपछि नेपाल अंक बाँड्न बाध्य भएकाे हाे।

नेपालले बंगलादेशको राजधानी ढाकामा गत महिना मात्रै सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपका दुई खेलमा ६–१ र ८–० को फराकिलो जित हात पारेकाे थियाे। नेपाल त्यही नतिजा दोहोर्‍याउन चाहन्थ्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको