काठमाडौँ। एएफसी यु-२० महिला एसियन कप छनाेट अन्तर्गत नेपालले आइतबार समूह चरणकाे अन्तिम खेलमा उत्तर कोरियाको सामना गर्दैछ।
यो खेल नेपाली समयअनुसार दिउँसाे १:४५ बजेबाट सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण भुटान फुटबल फेडेरेसनको युट्युब च्यानलबाट हुनेछ।
यसअघि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरबलाई १-० गोल अन्तरले पराजित गरेको थियो। नेपाल समुह ‘ए’ मा अहिले २ खेलमा अपराजित रहदै ४ अंकसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानलाई १०-० गोल अन्तरले पराजित गरेको थियो।
समुह ए बाट भुटान र साउदी अरेबिया छनाेटको दौडबाट बाहिरिएका छन् भने नेपालले आफ्नो सम्भावना कायम राख्न उत्तर कोरियालाई पराजित गर्ने वा बराबरी खेल्ने विकल्प रहेको छ। नेपाल शीर्ष स्थानमा पुग्न उत्तर कोरियालाई २५ गोलको अन्तरमा पराजित गर्नुपर्ने अवस्था छ।, जुन सम्भव देखिदैन। यस अवस्थामा नेपालले सामान्य जित र बराबरीको विकल्प लिएर मैदानमा उत्रिने छ।
आठ समुहको शीर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनाेट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शीर्ष तीन देश पनि एशिया कपका लागि छनाेट हुने छन्।