काठमाडौं। एसियाली क्लब फुटबलको प्रतिष्ठित एएफसी च्याम्पियन्स लिग-२ को खेलका लागि पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो लगायत स्टार खेलाडी भारत खेल्न आउने भएका छन्।
एएफसी च्याम्पियन्स लिग-२ मा भारतीय क्लब एफसी गोवा र रोनाल्डोको टोली साउदी प्राे लिग क्लब अल–नासर एउटै समूह डीमा परेका छन्।
मलसियाकाे राजधानी क्वालालम्पुरमा शुक्रबार भएको ड्रअनुसार समूह डी मा गोवा र अल–नासरसँगै ताजिकिस्तानको इस्तिकलोल र इराकको अल–जावरा पनि छन्।
यो समूह तय भएपछि रोनाल्डोको भारत आउने सम्भावनाले खेलप्रेमीहरूमा उत्साह थपेको छ। होम एन्ड अवे आधारमा हुने समूह चरणअन्तर्गत अल–नासर एफसी गोवासँगको अवे खेलका लागि भारत आउन सक्छ। यसै कारण धेरैको नजर अब एनएफसी गोवाविरुद्धको भिडन्तमा रोनाल्डोको उपस्थितितर्फ केन्द्रित छ।
तर रोनाल्डो स्वयं टोलीसँग भारत आउने–नआउनेबारे भने अझै स्पष्ट भइसकेको छैन। एएफसी च्याम्पियन्स लिगको समूह चरणका खेलहरू आगामी सेप्टेम्बर १६ देखि सुरु हुनेछन्। प्रत्येक समूहका शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।
एएफसी च्याम्पियन्स लिग टु २०२५–२६ का समूहहरू
समूह ए: अल वस्ल एफसी, एस्तेग्लाल एफसी, अल मुहर्राक एससी, अल वहदत
समूह बी: अल अहली एससी, पीएफसी अन्डिजन, एफसी अर्कादाग, अल खाल्दिया एससी
समूह सी: मोहन बगान सुपर जायन्ट, सेपाहान एस.सी., अल–हुसैन एससी, अहाल एफसी
समूह डी: एफसी गोवा, अल–नासर, अल–जावरा, एफसी इस्तिकलोल
समूह ई: बेइजिङ एफसी, म्याकार्थर एफसी, ताइ पो एफसी, कङ आन हा नोइ एफसी
समूह एफ: बैंकक युनाइटेड, सेलाङ्गोर एफसी, लायन सिटी सेलर्स एफसी, पर्सिब बान्डुङ
समूह जी: गाम्बा ओसाका, नाम दिन एफसी, राचाबुरी एफसी, ईस्टर्न एफसी
समूह एच: एफसी पोहाङ स्टिलर्स, बीजी पाथुम युनाइटेड, काया एफसी–इलोइलो, ट्याम्पिनेस रोभरर्स एफसी


