काठमाडाैँ। प्रिमियर र टिम क्वासनले एस आईबीएस थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको ब्वाइज फाइनलमा प्रिमियरले जेभियरलाई १७–१३ ले पराजित ग¥यो। प्रिमियरबाट अश्विन चालिसे (कप्तान), प्रथम श्रेष्ठ, प्रणयमान श्रेष्ठ र दावा लामाले प्रतिस्पर्धा गरेका थिए। विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे।
एस इन्टरनेसनल बिजनस स्कुल (एस आईबीएस) द्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको उपाधि भिडन्तमा क्वासनले बलर्स एकेडेमीलाई ११–१० को साँघुरोअन्तरले हरायो । क्वासनको टोलीबाट सोनाम डोल्मा लामा (कप्तान), उर्जा राना मगर, गुरुत्सो लामा र छिरिङ शेर्पाले खेलेका थिए। पहिलो हुनेलाई १५ हजार तथा दोश्रोलाई ८ हजार नगदबाट पुरस्कृत गरियो।
नेपाल बास्केटबल संघको सहकार्यमा भएको प्रतियोगिताको ब्वाइजमा प्रिमियरका अश्विन र गल्र्समा क्वासनकी उर्जा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र आयोजक एस इन्टरनेसनल बिजनस स्कुलका कार्यकारी निर्देशक आशिष तिवारीले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।


