काठमाडौँ। आरएस रिसोट एन्ड बीच फुटबल महिला टिम एन्फा राष्ट्रिय महिला लिगको लागि छनोट भएको छ।
च्यासल रंगशालामा बिहिवार सम्पन्न खेलमा एन्फा महिला लिग छनोटको आफ्नो अन्तिम खेलमा स्टुडेन्स् फुटबल क्लब महिला टिमलाई ४–१ ले हराउँदै आरएस छनोट भएको हो।
आरएकाे जितमा सरिता बिकले दुई गाेल गर्दा बिपना परियार र सलिना सरुले समान एक गाेल गरिन्। खेलकाे पहिलाे मिनेटमै बिपनाकाे गाेलबाट आरएसले सुरुआती अग्रता बनाएकाे थियाे।
जितसँगै समूह ‘ए’ को आरएसले ६ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा रहँदै छनोट भएको हो। यस्तै साेहि समूहमा समान खेलबाट राप्ती फुटबल क्लब १३ अंकसहित दाेस्राे स्थानमा झरेको छ। एक खेल कम खेलेकाे चर्च ब्वाइज १२ अंकसहित तेस्राे स्थानमा छ।
योसँगै महिला लिगको लागि छनोट हुने आरएस दोस्रो टिम बनेको छ। यसअघि समूह ‘बी’ बाट संकटा छनोट भइसकेको छ।


