कार्कीको अध्यक्षतामा तेक्वान्दो संघ सिन्धुपाल्चोकको नयाँ कार्यसमिति गठन


चाैतारा। रामचन्द्र कार्कीको अध्यक्षतामा नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोकको पाँचौँ जिल्ला अधिवेशन सुकुटेमा सम्पन्न भएको छ।

अधिवेशनले कार्कीको अध्यक्षतामा उपाध्यक्ष रमेश गुरुङ, सचिव माधव बिक र कोषाध्यक्षमा नकुन नेपाल सर्वसम्मत चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा प्रेमबहादुर भण्डारी, कुमार बस्नेत, नरेन्द्र खड्का, र इश्वर भण्डारी निर्विरोध निर्वाचित भएका हुन्।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले तेक्वान्दोलाई ‘अनुशासित खेल’को संज्ञा दिँदै यसले युवाहरूमा नेतृत्व र अनुशासनको विकास गर्ने बताएका थिए। त्यस्तै, खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगालले तेक्वान्दो संघले जिल्लामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै स्थानीय तहसँगको सहकार्यमा थप प्रतियोगिताहरू आयोजना गर्नुपर्नेमा जोड दिए।

नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य हेमन्त डाँगीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै केन्द्रीय नीति र स्थानीय क्रियाशीलताबीच समन्वय हुनुपर्नेमा जोड दिए।

निवर्तमान अध्यक्ष प्रेमबहादुर भण्डारीले आफ्नो कार्यकालमा भएका उपलब्धिहरू स्मरण गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिए। साथै, उनले संघको स्थापनाको संघर्षपूर्ण इतिहासलाई सम्झँदै नयाँ नेतृत्वले संघलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष कार्कीका अनुसार नयाँ कार्यसमितिको पहिलो बैठकले निवर्तमान अध्यक्ष भण्डारीलाई संघको केन्द्रीय प्रतिनिधि र सदस्य कुमार बस्नेतलाई जिल्ला प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको