एसिया कप – श्रीलंकामाथी बंगलादेशको रोमाञ्चक जित


काठमाडौं – एसिसि एसिया कप टि२० क्रिकेट प्रतियोगिताको पहिलो सुपर फोरको खेलमा बंगलादेशले रोमाञ्चक जित हात पारेको छ ।

रोमाञ्चक जित हासिल गर्ने क्रममा बंगलादेशले निर्धारित २० ओभरको अन्तिम बलमा लक्ष्य पूरा गरेर ४ विकेटको जित हासिल गर्यो ।

युनाइटेड अरब इमिरेट्स (यूएइ) का दुबई क्रिकेट स्टेडियममा १ सय ६९ रनको लक्ष्य बंगलादेशले निर्धारित २० ओभरमा १ बल बाकी रहदा पूरा गर्यो ।

अन्तिम ओभरमा जितका लागि ५ रन चाहिएकोमा दाशुन शनकाले २ विकेट लिए पनि हार टार्न भने सकेनन् । बंगलादेशको रोमाञ्चक जितमा सैफ हसनले ६१ तथा टोहिड हृदयले ५८ रनको अर्धशतकीय इनिङ खेले ।

सैफले ४५ बलमा २ चौका र ६ छक्का प्रहार गर्दा हृदयले ३७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । कप्तान लिटन दास १६ बलमा २३ रनमा आउट हुँदा शमिम होसैन १२ बलमा १४ रनमा अविजित रहे ।

श्रीलंकाका लागि वानिन्दु हसरंगा र शनकाले समान २ तथा नुवान तुषरा र दुश्मथा चमिराले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रनको योगफलतयार गरेको थियो । श्रीलंकाका लागि मध्येक्रमका ब्याटर शनकाले अविजित रहँदै ६४ रनको अर्धशतकीय पारी खेले । उनले ३७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे ।

कुशल मेन्डिस २५ बलमा ३४, पथुम निशंका २२ तथा कप्तान चरिथ अशलंका २१ रनमा आउट भए । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३, मेहेदी हसनले २ तथा तस्किन अहमदले १ विकेट लिए ।

२८ सेप्टेम्बरसम्म जारी रहने एसिया कपको सुपर फोरमा श्रीलंका र बंगलादेशको अलावा पाकिस्तान र भारत पनि रहेका छन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको