काठमाडौं। फाइनल खेलमा पाकिस्तानलाई हराउँदै भारतले नवौंपल्ट एसिया कपकाे उपाधि जितेको छ। भारतले यसअघि सन् १९८४, १९८८, १९९०-९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३ मा उपाधि जितेको थियो।
आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको हो। पाकिस्तनाले दिएकाे १४७ रनकाे लक्ष्य पछ्याएकाे भारतले तिलक बर्माको अविजित ६९ रनकाे सहयाेगमा लक्ष्य पूरा गर्याे।
भारतले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १५० रन बनायो। तिलकले ५३ बलमा तीन चौका र चार छक्कासहित अविजित ६९ रन जोडे। विजयी चौका भने रिंकु सिंहले प्रहार गरे।
भारतका शिवम दुबे ३३, सञ्जु सामसन २४ र शुभमन गिल १२ रनमा आउट भए। पाकिस्तानका फहिम अफरफले सर्वाधिक तीन विकेट लिए। शाहिन शाह अफ्रिदी र अब्रार अहमदले एक एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा अल आउट हुदै १४६ रन बनाएको थियो। पाकिस्तानका लागि शाहीबजादा फरहानले सर्बाधिक ५७ रन बनाए भने फखर जमानले ४६ र सैम आयुबले १४ रन बनाए। त्यस्तै भारतीय बलर कुलदीप यादवले ४ विकेट लिए भने जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्सर पटेलले २-२ विकेट लिएका थिए।
फाइनल खेलको म्यान अफ द म्याच भारतका तिलक बर्मा बने भने एसिया कपको उत्कृष्ट खेलाडी भारतका अभिषेक शर्मा बने।


