काठमाडौं । नेपाल आज टि२० आई सिरिज क्लिन स्विप गर्ने लक्ष्यका साथ वेस्टइण्डिजसँग तेस्रो टि२० आई खेल्दैछ ।
युनिटि कप नाम दिइएको सिरिज नेपालले एक खेल अगावै २-० ले जितिसकेको छ । सिरिजमा लगातार तेस्रो जित निकाल्न दुईबीचको अन्तिम खेल शारजहाँमा नेपाली समय अनुसार मंगलबार बेलुका सवा ८ मा हुनेछ ।
पहिलो खेलमा १९ रनको जित हात पारेको नेपालले दोस्रो खेलमा ९० रनको फराकिलो जित हासिल गरेको थियो । लगातार दुई जितका साथ नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको थियो ।
टेस्ट मान्यता प्राप्त राष्ट्रसँग पहिलो पटक दुईपक्षिय सिरिज खेलिरहेको नेपालले पहिलो सिरिजमा नै ठूलो सफलता हात पारेको हो ।
नेपाल आजको खेलमा जित हात पारेर पहिलो पटक कुनै पनि एसोसिएट राष्ट्रले टेस्ट राष्ट्रमाथि ३-० ले सिरिज जित्न चाहन्छ । उता, वेस्टइण्डिज सिरिजमा सान्त्वना जित निकाल्ने लक्ष्यमा छ ।


