काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीले मलेसियामाथिको दोस्रो टि२० आईमा जित हात पारेको छ ।
शनिबार भएको खेलमा मलेसियालाई नेपालले ६ विकेटले पराजित गरेको हो । जितसँगै नेपालले पाँच खेलको टि२० आई सिरिजमा १(१ को बराबरी गरेको छ । नेपालले पहिलो टि२० आई ३ रनले गुमाएको थियो ।
मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा उपकप्तान पुजा महतोले ३९ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ३९ रन बनाइन् । कप्तान इन्दु बर्माले २१ बलमा ३ चौकाको सहयोगमा २७ रन जोडिन् ।
रुबि पोदार १५ रनमा आउट हुँदा रुबिना क्षेत्री १५ रनमा नट आउट रहिन् । मलेसियाका लागि ऐना हमिजाले २ तथा नुर दानिया र नुर अलियाले समान १ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९१ रनको योगफल तयार गरेको थियो ।
मलेसियाका लागि एना हमिजाले ६३ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेलिन् । कप्तान उनीफ्रड दुराइसिंगम १५ रनमा आउट भइन् ।
नेपालका लागि सुमन बिष्टले २ तथा कविता कुँवरले १ विकेट लिइन् । तेस्रो, चौथो र पाँचौ खेल क्रमशः आइतबार, मंगलबार र बुधबार रहेको छ । नेपाल आगामी जनवरीमा घरेलु भुमीमा नै आयोजना हुने आइसिसी महिला टि२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको छ ।


