काठमाडौं। एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणमा पनि नेपालले पुनः पराजित भएको छ।
भियतनामको होचि मिन्हस्थित गो डाउ स्टेडियम बिहीबार राति सम्पन्न समूह ‘एफ’को खेलमा घरेलु टोली भियतनामसँग नेपाल ३–१ ले पराजित भएको हो।
खेलको नवौं मिनेटमा लिङले गोल गर्दै भियतनामलाई अग्रता दिलाए। तर,त्यसको आठ मिनेटमै पछि नै सनिशले नेपालका लागि बराबरी गोल फर्काए।
पहिलो हाफ बराबरीमै टुंगिएको खेलको दोस्रो हाफमा भने भियतनाम हाबी रह्यो।
मान्हले ६७औं मिनेटमा र भान भीले ७२औं मिनेटमा गोल गर्दै भियतनामको जित सुनिश्चित गरे।
यस जितसँगै भियतनाम ३ खेलबाट दुई जितसहित ६ अंक जोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा उक्लिएको छ। मलेसिया ९ अंकसहित शीर्ष स्थानमा छ। लाओसले ३ अंक जोडेको छ भने नेपाल तीनै खेलमा पराजित हुँदै अंकविहीन अवस्थामा छ।
नेपालले यसअघि मलेसियासँग २–० र लाओससँग २–१ को हार बेहोरेको थियो। भियतनामको जितमा नुगुएन टिएन लिङ, फाम जुआन मान्हले र नुगुएन भान भीलेले गोल गरे। नेपालका लागि एक मात्र गोल सनिश श्रेष्ठले गरेका हुन्।


