लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रायोजन

काठमाडौं। नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई अन्तराष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सहयोग गर्ने भएको छ।

आगामी मंसिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीले सह–प्रायोजन गर्ने भएको हो।

बिहिबार आयोजक लुम्बिनी स्पोर्टस अवार्ड संयोजक चाहना शाह र केल्मी नेपालको प्रतिनिधित्व गर्ने केल्मी नेपालगन्ज सोरुम प्रतिनिधि सिर्जना थपलियाले सम्झौतापत्र आदान–प्रदान गरे। खेलाडी र खेलकर्मी उपलब्धीलाई सम्मान गर्दै आयोजना हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डमा जोडिन पाउँदा खुसी लागेको थपलियाले बताए। उनले भने,‘नेपालगन्जमा हुन लागेको यो कार्यक्रम निकै राम्रो छ। खेलक्षेत्रमा हुने यस्ता सम्मानले नेपाली खेलाडी र खेलकर्मीको मनोबललाई बढाउने काम गर्छ। अवार्ड कार्यक्रममा सहकार्य गर्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद। कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु।’

खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्य सहित नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुन लागेको छ। रंगशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्डमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिनेछ।

रंगशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो। रंगशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ। खेलकुद क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएको ब्राण्ड केल्मीसँग सहकार्य गर्ने अवसरले अवार्डलाई थप प्रभावकारी बनाउने लुम्बिनी स्पोर्टस अवार्डको संयोजक शाहले बताए।

अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धी र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भैरहेको कार्यक्रम संयोजक चाहना शाहले बताए। उनले भने, ‘लुम्बिनी प्रदेश खेलकुदका क्षेत्रमा निकै सशक्त प्रदेश हो। तर यहाँ खेलाडी र खेलकर्मीको मनोबल बढाउनका लागि निकै थोरै कार्यक्रमहरु हुने गरेका छन्। हामीले खेलकुदमा आफनो जीवन समर्पण गरेका र खेलमा नयाँ सम्भावना देखेर मिहिनेत गरिरहेका खेलाडीहरुको हौसला बढाउन पनि यो अवार्ड कार्यक्रम गर्ने तयारी गरेका हौं। अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने शाहले बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको