एन्फा निर्णयविरुद्ध आन्दोलनमा जाने खेलाडी संघको चेतावनी


काठमाडौं। नेपाल फुटबल खेलाडी संघले झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने अखिल नेपाल फुटबल संघ एन्फा र क्लबबीचको सहमतिको तीव्र विरोध गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बसेको एन्फा पदाधिकारी र ‘ए’ डिभिजन क्लब अध्यक्षहरूको बैठकले २०८३ पुस ३ गतेदेखि लिग सञ्चालन गर्ने सहमति गरेको थियो। तर, खेलाडी संघले उक्त निर्णयलाई व्यावसायिक खेलाडीमाथिको अन्याय भनेको छ।

संघका अनुसार पछिल्लो पटक लिग सम्पन्न भएको करिब तीन वर्ष बित्न लाग्दा पनि एन्फाले खेलाडीहरूको बारम्बारको आग्रह बेवास्ता गर्दै आएको आरोप छ।

“एन्फा, क्लब र युवा तथा खेलकुद मन्त्रालयबीच भएको छलफलले लिग छिट्टै सञ्चालन गर्ने संकेत दिएको थियो। तर एन्फाको पछिल्लो निर्णयले ती सबै पहललाई कमजोर बनाएको छ,” संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एन्फाले सञ्चालन गर्न लागेको राष्ट्रिय लिगमा ६ टोली मात्र सहभागी हुने उल्लेख छ। जसका कारण धेरै खेलाडीहरू खेल्नबाट वञ्चित हुने खेलाडी संघको बुझाइ छ।

संघका अनुसार ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनमा रहेका ४२ क्लबका १२५० देखि २१०० खेलाडीहरू आगामी वर्ष खेल्नबाट वञ्चित हुने पक्का छ। यदि ‘ए’ डिभिजन लिगसमेत नहुने हो भने झन्डै १ हजारभन्दा बढी व्यावसायिक खेलाडी बेरोजगार बन्ने संघको दाबी छ।

“खेलाडीको मर्म र भावनामाथि खेलवाड भएकोले यो निर्णयप्रति हामी गम्भीर असन्तुष्टि जनाउँछौं। यो सहमति खेलाडीको अस्तित्वमाथिकै संकट हो,” संघले विज्ञप्तिमा उल्लेख गरेको छ।

संघले पटक–पटक एन्फालाई लिग सञ्चालनका लागि मौखिक र लिखित सुझाव दिए पनि बेवास्ता गरिएको जनाएको छ। त्यसैले अब खेलाडीहरू आन्दोलनमा जान बाध्य भएको संघको भनाइ छ।

संघले चेतावनी दिंदै भनेको छ- “आगामी दिनमा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी एन्फा नेतृत्वकै हुनेछ।” साथै, खेलाडी संघले फुटबलप्रेमी, समर्थक र सरोकारवालाहरूलाई खेलाडीको हकका लागि सुरु हुन लागेको अभियानमा साथ दिन आह्वान गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको