काठमाडाैँ। नेपाली अल्ट्रा रनर सुमन कुलुङले हङकङमा आयोजना हुने ट्रान्सलान्टाउ रेसमा प्रतिस्पर्धा गर्ने भएका छन्। नोभेम्बर १४ देखि १६ तारिखसम्म हङकङमा हुने ट्रान्सलानटाउ रेसमा भाग लिन सुमन सोमबारै राती हङकङ प्रस्थान गर्देछन्। उनले ८० किलोमिटर दूरीको रेसमा प्रतिस्पर्धा गर्नेछन्।
केही समयअघि स्पेनमा भएको वल्र्ड ट्रेल एन्ड माउन्टेन च्याम्पियनसिपमा भाग लिएका सुमनले एसियाली धावकहरुमध्ये राम्रो प्रदर्शन गरेका थिए। नेपाल एड्भेन्चर रनिङ फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले सुमन कुलुङले अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेको र हङकङमा पनि राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
सुमनले पहिलो पटक वल्र्ड ट्रेल रनिङ एन्ड माउन्टेन च्याम्पियन खेल्दा राम्रो अनुभव भएको र धेरै कुरा सिक्ने अवसर पाएको बताए । उनले हङकङमा हुने रेसमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। अल्ट्रा रनर सुमनलाई अष्ट्रियाको सिग्रिड फाउन्डेसनले स्पोनसरसिप गरेको छ। सुमन पर्यटक गाइडको रुपमा काम गर्दा सन् २०२२ मा फाउन्डेसनका पदाधिकारीसंग भेट भएको र त्यसपछि सम्पर्कमा पुगेका थिए।
त्यसपछि राईको सम्पूर्ण मेडिकल चेकअप गर्दा विश्वका शीर्ष धावकभित्र पर्ने सम्भावना देखिएको भन्दै सहयोग गरेको फाउन्डेसनले जनाएको छ। सुमन हाल अष्ट्रियामा ट्रेल रनिङ अभ्यासका साथै काम पनि गर्दै आएका छन्। उनी त्यहाँ स्की लगायत खेलहरु पनि अभ्यास गर्ने गर्नछन्। सुमनले वल्र्ड च्याम्पियनसिप लगायत विश्वका विभिन्न देशमा हुने अल्ट्रा रेसहरुमा भाग लिईसकेका छन्। सुमनसंगै फाउन्डेसनकी संस्थापक डा. सिग्रिड स्वार्जेनबाकर र पेट्रा नोकर पनि हङकङ जाने छन्।


