जन जागृतिलाई हराउँदै चित्लाङ राष्ट्रिय लिगमा छनोट


काठमाडौँ। जन जागृति युवा क्लबलाई हराउँदै चित्लाङ एफसी एन्फा राष्ट्रिय लिगमा छनोट भएको छ। चित्लाङ राष्ट्रिय लिगमा छनोट हुने दोस्रो टिम हो। यसअघि लालिगुँरा एसोसिएसन छनोट भएको थियो।

मकवानपुरको हेटौँडास्थित गौरिटार रंगशालामा सम्पन्न समूह ‘ए’को खेलमा चित्लाङले जन जागृतिलाई २–० ले पराजित गरेको हो। पहिलो हाफमा एक गोल गरेको चित्लाङले दोस्रो हाफमा पनि एक गोल थप्न सफल भयो।

चित्लाङको जितमा विज्ञान खड्का र मदन स्याङतानले गोल गरे। विज्ञानले खेलको १३औँ र मदनले ७०औँ मिनेटमा गोल गरेका हुन्।

जितसँगै चित्लाङ यही पुस ९ बाट हुने भनिएको राष्ट्रिय लिगका लागि छनोट भएको छ। जारी प्रतियोगितामा चार खेलबाट सात अंक जोड्दै चित्लाङ दोस्रो स्थानमा उक्लिएको छ। सात अंक नै रहेको लालिगुँरास शीर्ष स्थानमा यथावत् छ। समान खेलबाट एक अंक रहेको जन जागृति पूछारमा छ। समान खेलबाट ६ अंकसहित विजय स्पोर्ट्स क्लब तेस्रो स्थानमा झरेको छ।

पहिलो खेलमा देउराली युथ क्लबमाथि ४(१ को जित हासिल गरेको चित्लाङले त्यसपछि विजयी स्पोर्टससँग १–१ को बराबरी खेलेको थियो भने तेस्रो खेलमा लालिगुँरास एसोसिएसन क्लबसँग ३(० को हार व्यहोर्न बाध्य भयो। यो सँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्नै दुवै टोलीको टुंगो लागेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको