काठमाडौं। एक्टेरा नेपालको दोस्रो संस्करण मंसिर १३ गते पोखरास्थित बेगनास तालमा हुने भएको छ।
पेरिविङ्कल्स सर्भिस प्रालिको आयोजनामा हुने यो प्रतियोगिता अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त एक्सटेरा प्लानेट ब्रान्डको हिस्सा हो. जसले अफ रोड ट्रायथलन, ट्रेल रनलगातयाका साहसिक खेलहरूको प्रवद्र्धन गरेकाे छ।
आइतबार पत्रकार सम्मेलनमार्फत आयोजनकले प्रतियोगितामा पूर्ण दूरी ट्रायथलन, स्प्रिन्ट दूरी ट्रायथलन, डुआथलन, मिश्रित रिले र ट्रेल रन समावेश गरिएको जानकारी दियो।
पूर्ण दूरी ट्रायथलनमा १.५ किलोमिटर पौडी, २८ किलोमिटर माउन्टेन बाइकिङ (१४ किलोमिटरको दुई ल्याप) र १२ किलोमिटर ट्रेल रन समावेश हुनेछ । यस्तै स्प्रिन्ट दूरी ट्रायथलनमा ७५० मिटर पौडी, १४ किलोमिटर माउन्टेन बाइक राइड र ६ किलोमिटर ट्रेल रन हुनेछ।
डुआथलनमा ६ किलोमिटर ट्रेल रन, १४ किलोमिटर माउन्टेन बाइक राइड र अर्को ६ किलोमिटर ट्रेल रन तथा मिश्रित रिलेमा ७५० मिटर पौडी, १४ किलोमिटर बाइक राइड, र ६ किलोमिटर ट्रेल रन हुनेछ। ट्रेल रनमा १२ किलोमिटर र ६ किलोमिटर दौड समावेश छन्।
आयोजकले हालसम्म ३० अन्तर्राष्ट्रिय खेलाडीले नामा दर्ता गराइसकेको बतायो। यस्तै प्रतियोगितामा १०० नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा पूर्ण दूरी ट्रायथलन र १२ किलोमिटर ट्रेल रनमा पुरस्कारको व्यवस्था गरिएको छ। दुवै विधाका महिला तथा पुरुष विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो स्थान हासिल गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।


