काठमाडौँ। अस्ट्रेलियामा यही नोभेम्बर २८ मा आयोजना हुने ‘कोसी १०० फर अल्ट्रा ट्रेल कसियोस्को बाई युटिएमबी’मा नेपाली खेलाडी दावा तामाङले सहभागिता जनाउने भएका छन्।
बुधबार नेपाल एडभेन्चर रनिङ महासंघ (एनएआरए)ले पत्रकार सम्मेलनमार्फत कालिका गाउँपालिका १ रसुवा निवासी अल्ट्रा एवं ट्रेल रनर तामाङले अस्ट्रेलियामा प्रतिस्पर्धा गर्ने जानकारी गराएको हो।
कालिका गाउँपालिका १ का वडा अध्यक्षसमेत रहेका तामाङ विगत एक वर्ष देखि अल्ट्रा एवं ट्रेल रनरमा संलग्न छन्। पूर्व कराते खेलाडी एवं प्रशिक्षक तामाङले एक वर्षयता ट्रेल रनका विभिन्न प्रतियोगिताहरुमा भाग लिँदै आएका छन्। तामाङले गत अप्रिलमा भएको विश्व एक्सिट्रम फिसटेल १०० अल्ट्रामा रजत पदक जितेका थिए।
अस्ट्रेलिया भ्रमणका लागि धावक तामाङलाई ‘एक्सटेप नेपाल’ले प्रायोजन तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) र एनएआरएले स्विकृति एवं सहजीकरण गरेको छ।


