एथलेटिक्स पदक विजेतालाई राखेपको बधाइ

काठमाडाैँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपका पदक विजेतालाई भेट गरी बधाइ दिएका छन्।

भारतको झारखण्डमा कात्तिक ६ देखि ८ गतेसम्म भएको प्रतियोगितामा नेपालले २ रजत र ४ कांस्य पदक जितेको थियो। राजन रोकायले १० हजार मिटर दौड र सोमबहादुर कुमालले ८ सय मिटर दौडमा रजत पदक जितेका थिए। सन्तोषी श्रेष्ठले ५ हजार र १० हजार मिटर दौडमा कास्य पदक जितिन्। दुवै स्पर्धामा सन्तोषीले नयाँ राष्ट्रिय कीर्तिमान पनि स्थापित गरेकी थिइन्।

मुकेश बहादुर पालले ५ हजार मिटर दौडमा कांस्य तथा मिक्स रिलेमा सोमबहादुर कुमाल, रामप्रसाद थारु, जयरानी थारु र रमिता थारु सम्मिलित टोलीले कांस्य पदक प्राप्त गरेको थियो। कार्यक्रममा राखेपका सदस्यत्रय प्रकाशकुमार कुसारी, अञ्जना श्रेष्ठ, हिमालकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको