काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) मा आज(शनिबार) दुई खेल आयोजना हुदैछन् ।
शनिबारको पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज खेल्दैछन् । शनिबारको पहिलो खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिबार बिहान ११ः१५ मा हुदैछ ।
दुवै टोलीले प्रतियोगितामा दोस्रो खेल खेल्दैछन् । लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको थियो । उता, कर्णाली भने पहिलो खेलमा चितवनसँग नै पराजित भएको थियो । लुम्बिनी जितको लयलाई निरन्तरता दिने लक्ष्यमा रहने छ ।
कर्णाली भने लुम्बिनीलाई हराउँदै प्रतियोगिताको पहिलो जित हात पार्ने कोसिसमा छ । लुम्बिनी २ अंकका साथ तेस्रो स्थानमा तथा कर्णाली अंक बिहिन रुपमा छैठौं स्थानमा छ । अघिल्लो संस्करणमा कर्णालीले लुम्बिनीलाई ५ रनले पराजित गरेको थियो ।
आजनै टियु क्रिकेट रंगशालामा नै हुने दोस्रो खेलमा विराटनगरले काठमाडौंको सामना गर्नेछ । विराटनगर प्रतियोगिताको दोस्रो खेल खेल्दैछ । भने, काठमाडौं तेस्रो खेल खेल्दैछ । विराटनगर पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै दोस्रो स्थानमा रहेको छ ।
काठमाडौं भने २ मध्ये १ मा जित र १ मा हारका साथ अंक तालिकाको पाँचौ स्थानमा रहेको छ । अघिल्लो संस्करणमा काठमाडौंले विराटनगरलाई १ विकेटको रोमाञ्चक हार दिलाएको थियो ।


