काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो साताको खेल सकिएको छ। गत साताको सोमबारबाट सुरु भएको एनपिएलमा आज आइतबार विश्रामको दिन रहेको छ। एपिएलको पहिलो सातामा ६ दिनमा विभिन्न ८ खेलहरु सम्पन्न भए।
पहिलो साताको खेल सकिँदा साबिक विजेता जनकपुर बोल्ट्सबाहेकका ७ टोलीहरुले कम्तिमा पनि २ खेल खेले। सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले खेलेका दुवै खेलमा जित हासिल गर्दा पोखरा एभेन्जर्सले खेलेको दुवै खेल गुमाउन पुग्यो।
कर्णाली याक्स, चितवन राइनोज र लुम्बिनी लायन्सले खेलेका २ खेलमा १ मा जित तथा १ मा हार बेहोरे। यसबीचमा काठमाडौं गोर्खाजले भने ३ खेल खेल्दै २ हार तथा १ जित हासिल गर्यो। गत सोमबार भएको यस संस्करणको पहिलो खेलमा साबिक विजेता जनकपुरलाई काठमाडौंले पराजित गर्यो।
अघिल्लो संस्करणमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको सुदूरपश्चिममाथि काठमाडौंले ५ विकेटको जित हात पार्यो। १३१ रनको सामान्य लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। प्रतियोगिताको सुरुआत नेपालको इतिहासमा नै पहिलो रात्रीकालीन क्रिकेटका रुपमा सुरु भयो।
पहिलो खेलमा नै साबिक विजेतामाथि सहज जित हासिल गरेको काठमाडौं त्यसपछिका दुई खेलमा भने पराजित हुन पुग्यो। प्रतियोगिताको चौथो तथा आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित काठमाडौं आफ्नो तेस्रो खेलमा विराटनगरसँग ५ विकेटले पराजित भयो।
प्रतियोगिताको दोस्रो दिन दुई खेलहरु आयोजना भए। दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज आमनेसामने भए। यस खेलमा कर्णालीमाथि चितवन हाबी हुन पुग्यो। उसले खेल ४ विकेटले जित्यो। १६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
दोस्रो दिनको दोस्रो नै खेलमा विराटनगरले पोखराको सामना गर्यो। यस खेलमा विराटनगरले कीर्तिमानी योगफल तयार गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले लिग दोस्रो संस्करण चलेर ३४ खेल खेलिसक्दाको पहिलो २ सय माथीको योगफल तयार गर्यो।

यस खेलमा विराटनगरले ६ विकेटको नोक्सानीमा २२० रनको योगफल तयार गरेको थियो। उक्त खेलमा पोखरालाई १६७ रनमा समेटेरविराटनगरले ५३ रनको जित हासिल गर्यो।
तेस्रो दिन एक मात्र खेल भयो। उक्त दिन सुदूरपश्चिमले काठमाडौंको सामना गर्यो। आफ्नो पहिलो खेलमा साबिक विजेतालाई पराजित गर्दै उच्च मनोबलमा रहेको काठमाडौं र सुदूरपश्चिमको राम्रै प्रतिस्पर्धा हुने अनुमान रहेको थियो। तर, अनुमान विपरित काठमाडौं २९ रनले पराजित हुन पुग्यो।
चौथो र पाँचौ दिन पनि समान १ खेल सञ्चालनमा आएका थिए। चौथो र पाँचौ दिनका खेलमा क्रमश लुम्बिनी र सुदूरपश्चिम विजयी हुदाँ चितवन र पोखरा पराजित भएका थिए।
साताको अन्तिम दिन शनिबार दुई खेलहरु सञ्चालनमा आए। पहिलो खेलमा कर्णाली र लुम्बिनी आमने सामने भएका थिए। उक्त खेलमा कर्णालीले लुम्बिनीमाथि ९ विकेटको सहज जित हासिल गर्यो। १५७ रनको मध्यम लक्ष्य कर्णालीले १२.२ ओभरमा नै मात्र १ विकेट गुमाएर पूरा गर्यो।

कर्णालीका लागि ओपनरका रुपमा मैदानमा आएका स्कटल्याण्डका मार्क वाटले कीर्तिमानी शतक पूरा गरे। उनले एनपिएलकै इतिहासमा सबैभन्दा कम बलमा शतक पूरा गर्ने कीर्तिमान बनाए। उनले ४१ बलमा शतक पूरा गरेका थिए। यसअघि पहिलो संस्करणमा अमेरिकाका आन्द्रेस गौसले पोखराबाट खेल्दै ५४ बलमा शतक पूरा गरेका थिए।
यस दिनको दोस्रो खेलमा भने विराटनगरले काठमाडौंमाथि ५ विकेटको जित हात पार्यो।



