काठमाडाैँ। पोखरामा पहिलो पटक हुन लागेको केज फाइटको तयारी तिब्र पारिएको छ। पर्यटकीय राजधानी पोखरालाई थप नयाँ गन्तव्यको रुपमा स्थापित गर्नका लागि कन्टेन्डर फाइट सिरिजको तेस्रो संस्करणमा नयाँ विधा थप गरिएको हो।
साक यान्त मुवाथाईकोको आयोजनामा हुन लागेको प्रतियोगिताका खेलाडीले विभिन्न विधामा गरि १२ लाख रुपैयाँ भन्दा बढि पुरस्कार प्राप्त गर्नेछन्। पुसको १२ गते हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल वारियर सिरिजलेसमेत सहकार्यमा हुन लागेको हो।
फाइटको प्रबद्र्धन गर्दै पर्यटकलाई थप मनोरञ्जन दिनका लागि केज फाइटको आयोजना गर्न लागिएको हो। कार्यक्रम संयोजक तथा साक यान्त मुवाथाई नेपालका सञ्चालक खगेन्द्र छेत्रीका अनुसार प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका अनुभवी फाइटरहरू सहभागी हुनेछ। प्रतियोगितामा २५ वटा प्रोफेसनल फाइट राखिएको छ।खेलकुदमार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको क्षेत्रीले बताए।
प्रतियोगिता खेल्नका लागि सबै फाइटर पुसको १० गते पोखरा आइपुग्ने छन्। पुस ११ गते तौल मापन र प्राविधिक प्रकृया पुरा हुनेछ भने १२ गते मुख्य इभेन्टको आयोजना हुनेछ। संयोजक छेत्रीका अनुसार यस्ता प्रतियोगिताले नेपाली फाइटरलाई अन्तर्राष्ट्रिय स्तरमा उदाउने महत्वपूर्ण आधार दिनेछ। रबिन्द्र ढाँट र सुस्मिता थापा जस्ता प्रतिभाशाली खेलाडीहरु यस्तै फाइटका कारण उदाएका छन, यो अवसर हो’ उनले भने। क्षेत्रीका अनुसार सुस्मिता थापाले यस पटक मुख्य इभेन्टमा प्रतिस्पर्धा गर्नेछिन्। प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।


