काठमाडौँ। भारतको इष्ट बंगाल एफसीले काठमाडौँमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सोमाबार सम्पन्न दिनको पहिलो खेलमा बंगालले भुटानको ट्रान्सपोर्टस युनाइटेड एफसीलाई ४–० ले पराजित गरेको हो।
इष्ट बंगालको जितमा कप्तान फाजिला इक्वापुतले दुई, रेस्टि नान्जिरि र सुलाजना राईले एक गोल गरिन्। पहिलो हाफमा १–० को अग्रता बनाएको बंगालले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।
खेलको ३६औँ मिनेटमा फाजिलालले गोल गर्दै बंगाललाई १–० को अग्रता दिलाइन्। यस्तै, ६०औँ मिनेटमा सुलजनाले गोल गरिन्। फाजिलाले ६३औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरिन्।
७२औँ मिनेटमा रेस्टि नान्जिरिले गोल गर्दै खेलमा फराकिलो जित दिलाइन्। यो सँगै पहिलो खेलमै बंगालले तीन अंक जोड्न सफल भएको छ।
ट्रान्सपोर्टसले यसअघि आफ्नो पहिलो खेलमा पाकिस्तानको कराँची एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो।


