नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि


काठमाडौं। श्राम १२औं राष्ट्रिय एमबिटी डाउनहिल तथा २०औं क्रस कन्ट्री एमटिबी प्रतियोगिता आगामी पुसको पहिलो साता काठमाडौंमा हुने भएको छ।

नेपाल साइक्लिङ संघको आयोजनामा काठमाडौंमा नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिप हुन लागेको हो। संघले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दियो। सो अवसरमा गोकर्ण नगरपालिकाका मेयर दीपककुमार रिसाल, राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति स्मारक बिस्तारित बोर्डका अध्यक्ष सुदर्शन सिग्देल र साइक्लिङ संघका अध्यक्ष सुदीप पौडेल र संघका वरिष्ठ उपाध्यक्ष तथा नेपाली चुलोका प्रबन्ध निर्देशक संघर्ष बिष्टलगायत उपस्थित थिए।

कार्यक्रममा मेयर रिसालले धेरै युवाले रूचाएको खेललाई नगरपालिकाले सहयोग गरेको र नगरले सम्पूर्ण खेलकुद विकासमा काम गरिरहेको बताए। साथै मेयर रिसालले ट्रयाक बनाउन नगरले सहयोग गरेको उल्लेख गरे।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा रहेको सहिद स्मारक पार्कमा आगामी पुष ४ र ५ गते प्रतियोगिता हुने आयोजकले जनाएको छ। यो कोर्षमा १३औं दक्षिण एसियाली खेलकुद पनि भएको थियो। डाउनहिल र क्रस कन्ट्री गरी दुई विधामा प्रतिस्पर्धा हुने रेस डाइरेक्टर देवेन्द्र बस्नेतले जानकारी दिए। पुरूष इलिट (१९ देखि ३० वर्ष) र महिला इलिट, जुनियर (१७ र १८ वर्ष उमेरसमूह) , मास्टर्स (३० वर्षमाथि) र युथ (१४ देखि १६ वर्ष उमेरसमूह) गरी पाँच इभेन्टमा गरी कुल ३० पदकका लागि प्रतिस्पर्धा गरिने बस्नेले उल्लेख गरेका छन्।

डाउनहिल र क्रस कन्ट्रीमा समान ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। दुवै विधामा मास्टर्स र जुनियरमा महिला तथा पुरूषमा गरी चार विधामा प्रतिस्पर्धा हुनेछन्। यस प्रतियोगिताका लागि कोर्ष बनाउन गोकर्ण नगरपालिकाले सहयोग गरेको संघले जनाएको छ। बाइकिङ एन्ड हाइकिङ गर्ने हिसाबले पहिलेदेखि ट्रयाक तयार पारिएको संघका अध्यक्ष सुदीप पौडेलले बताए। साथै उनले हरेक खेलाडीको बिमा पनि गरिएको उल्लेख गरे। यस प्रतियोगिताका लागि स्रामका सन्चालक तथा साइक्लिङका प्रमुख प्रशिक्षक प्रयास तामाङले एक लाख रूपैयाँ सहयोग गरेको संघले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको