काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला च्याम्पियनसिपको नकआउट चरणको ड्र सार्वजनिक गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साेमबार सम्पन्न ड्र अनुसार प्रतियोगिता माघ २ गतेदेखि उदयपुर जिल्लाको थरुहट रंगशालामा आयोजना हुनेछ। प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहनेछ।
ड्र अनुसार प्रतियोगिताको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र गाईघाट फुटबल क्लब आमनेसामने हुनेछन्।
एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार नकआउट ढाँचामा सञ्चालन हुने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र एफसी रियालसँगै त्रिभुवन आर्मी क्लब, संकटा फुटबल क्लब, छाहरी युथ क्लब, चर्च ब्वाइज युनाइटेड, आरसी रिसोर्ट तथा एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।
नकआउट चरणको ड्र अनुसार त्रिभुवन आर्मी क्लब भने सिधै क्वार्टरफाइनल चरणमा प्रवेश गर्नेछ। बाँकी टोलीहरूले प्रिक्वार्टरफाइनल चरणबाट आफ्नो यात्रा सुरु गर्नेछन्।


