काठमाडौं। नेपाल पुलिस स्कुल साँगामा सञ्चालित ३१औं अन्तर विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको उपाधि पुलिस स्कुल साँगा रातोले जितेको छ।
फाइनल खेलमा साँगा रातोले सैनिक आवासीय महाविद्यालय भक्तपुरलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगा रातो प्रथम, सैनिक आवासीय महाविद्यालय भक्तपुर द्वितीय तथा पिस पोइन्ट स्कुल बानेश्वर तृतीय भएका छन्। प्रथम हुने टिमले ६० हजार, द्वितीयले ४० हजार र तृतीय हुने टिमले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगिता प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। समापन समारोहमा प्रहरी महानिरीक्षक कार्कीले विजयी टिम, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टिमलाई ट्रफी, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने, आत्मविश्वास विकास गर्ने र खेलमार्फत जीवनका महत्वपूर्ण पाठ सिक्ने अवसर प्रदान गर्ने बताए। विद्यालय व्यक्तित्व विकासको आधारशिला भएको उल्लेख गर्दै उहाँले विद्यार्थीहरूको रचनात्मक, सिर्जनशील तथा समग्र बौद्धिक विकासका लागि विद्यालय परिवार सधैं सक्रिय हुनुपर्नेमा जोड दिए।
मंसिर १७ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिमसहित धरान, चितवन, सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका १४ विद्यालयका १५ टिमको सहभागिता रहेको थियो।
समापन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, स्थानीय तहका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय बासिन्दा, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


