काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा दोस्रो मिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिप आगामी जेठ २९ र ३० गते हुने भएको छ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुषतर्फ कूल ९ विधामा प्रतिस्पर्धा हुने आयोजक वडा २२ का अध्यक्ष चिनिकाजी महर्जनले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। जसअन्तर्गत छ तौलसमूह, दुई स्पोर्ट फिजिक्स र एक ओभरअल विधामा प्रतिस्पर्धा हुनेछ। त्यस्तै महिलातर्फ स्पोर्ट फिजिक्सअन्तर्गत खुल्ला प्रतिस्पर्धा गराइनेछ। महिला स्पर्धा यो संस्करणदेखि थपिएको हो।
पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि तौलसमुहमा प्रतिस्पर्धा गराइनेछ भने स्पोर्ट फिजिक्स अन्तर्गत १७० सेमी भन्दा माथि र १७० सेमीसम्मको दुई विधामा प्रतिस्पर्धा गराइनेछ। प्रत्येक तौलसमूहका विजेताहरु दोस्रो मिस्टर महानगरको दावेदारिताका लागि ओभरअल प्रतिस्पर्धामा खेल्नका लागि छनोट हुने छन्। ओभरअल प्रतिस्पर्धाका विजेता खेलाडीलाई दोस्रो मिस्टर महानगरको टाइटलसहित नगद पाँच लाख, ट्रफी र व्यानेटले सुसज्जित गरिनेछ।
प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा हुने प्रतियोगिताको पहिलो दिन तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रि जजिङ र फाइनल खेल हुनेछ। प्रत्येक तौलसमूह समूहमा प्रथम, दोस्रो, तेस्रो, चौथी र पाँचौं हुने खेलाडीलाई क्रमशः १ लाख, ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार दिइनेछ। त्यस्तै स्पोर्ट फिजिक्स तर्फ पनि पुरुष र महिला दुवै विधामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख २५ हजार, ७५ हजार, ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउने छन्।
पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला शारीरिक सुगठनका अध्यक्ष सुरेश सुवेदीले खेलाडीले समयमै राम्रो तयारी गर्न सकुन् भन्ने उद्देश्यले चाँडै पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको बताए।


