काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत १८औँ साताको खेलमा रियल मड्रिडले सेभियामाथि जित हासिल गरेको छ।
इस्टाडियो सान्तियागो बर्नाबेउमा शनिबार राति सम्पन्न खेलमा रियलले सेभियालाई २–० गोल अन्तरले पराजित गरेको हो।
रियलको जितमा जुड बेलिङ्घम र किलियन एम्बाप्पेले एक–एक गोल गरे। खेलको ३८औँ मिनेटमा बेलिङ्घमले गोल गर्दै रियललाई पहिलो हाफमा १–० को अग्रता दिलाए।
दोस्रो हाफमा रियलले खेलमा नियन्त्रण कायम राख्दै सेभियामाथि दबाब बढायो। त्यसैक्रममा खेलको ८६औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै रियलको जित सुनिश्चित गरे।
यो जितसँगै रियल मड्रिडले १८ खेलबाट ४२ अंक जोडेको छ र लिग तालिकाको दोस्रो स्थानमा रहेको छ। १७ खेल खेलेको बार्सिलोनाले ४३ अंकसहित शीर्ष स्थानमा रहँदा पराजित सेभिया १७ खेलमा २० अंकसहित नवौँ स्थानमा रहेको छ।


