पदक जितेकी रेनुलाई राखेपको बधाई


काठमाडौं, पुस ८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँचौं एसियाली युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङ र प्रशिक्षक कविराज नेगी लामालाई मंगलबार बधाई दिएको छ।

राखेपका सदस्य–सचिव रामचरित्र मेहताले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरी दुवैलाई बधाई दिदै आगामी दिनमा अझ सफलता प्राप्त गर्न शुभकामना दिए।

रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियन युथ पारा गेम्समा के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि तौलसमूहमा कांस्य जितेकी थिइन्। रेनु राखेपले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेकी खेलाडी हुन्।

सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतको उपस्थिति रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको