काठमाडौं। नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको चौथो दिनपनि चार खेल हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने दिनको पहिलो खेलमा बिहान १० बजे समूह ‘सी’ को रुकुम पश्चिम ट्रेनिङ सेन्टरले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ।
जारी प्रतियोगितामा जावलाखेल पहिलो खेल खेल्दैछ। यता, पहिलो खेलमा जित निकालेको रुकुम पश्चिम लगातार दोस्रो जितको खोजिमा छ। पहिलो खेलमा रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
पुरुषतर्फकै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ। समूह ‘डी’ को यो खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ। कीर्तिपुर प्रतियोगिताको पहिलो खेल खेल्दैछ भने आर्मी पनि लगातार दोस्रो जित निकाल्दै क्वार्टरफाइनल पुग्ने दाउमा छ। आर्मीले पहिलो खेलमा कोशी प्रदेश भलिबल संघलाई ३–० सोझो सेटमा पराजित हराएको थियो।
महिलातर्फ पनि सोमबार दुई खेल हुँदैछ। पहिलो खेलमा उपाधि आर्मी र न्यु डायमन्ड प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’ मा आर्मीले एभरेष्ट भलिबल तथा न्यु डायमन्डले चुली युवा क्लबलाई हराएका थिए।
दिनको अन्तिम खेलमा साझ ४ बजे सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद्सँग खेल्दैछ। समूह ‘बी’ मा रहेका दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन्। समूह ‘बी’ को पहिलो खेलमा सुदूरपश्चिम नेपाल पुलिस तथा मधेश एपिएफसँग सोझो सेटमा पराजित भएका थिए।
आगामी पुस १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल २० टोलीको सहभागिता रहेको छ।


