एनभीए च्याम्पियन न्यु डायमण्डलाई केल्मीको सम्मान


काठमाडाैँ। नेपाली खेलकुद सामग्रीको क्षेत्रमा स्थापित नाम ‘केल्मी’ को भक्तपुरस्थित राधेराधे शाखाले आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले भर्खरै सम्पन्न एनभिए च्याम्पियनसिपको महिलातर्फको विजेता टोली न्यु डायमण्ड स्पोर्ट्स क्लब सहित अन्य विधाका खेलाडीहरूलाई सम्मान गरेको छ।

सो कार्यक्रममा एनभिए विजेता न्यु डायमण्डका खेलाडीहरूलाई विशेष सम्मान गरिनुका साथै दुई जना महिला फुटबल खेलाडी र तीन जना ब्याडमिन्टन खेलाडीहरूलाई खेलकुद किट्स प्रदान गरिएको थियो।

केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सन् २०१७ देखिको निरन्तर प्रयासले आज यो सफलता मिलेको बताउनुभयो। रंगशालामा नेपाली खेलाडीहरूले खेल पोशाकको गुणस्तरमा भोग्नुपरेको समस्या देखेपछि अन्तर्राष्ट्रिय स्तरको ‘ला लिगा’ र ‘प्रिमियर लिग’ जस्तै गुणस्तरीय पोशाक नेपाल भित्र्याउने सोच पलाएको उनले स्मरण गरे।

न्यौपानेले भने, “सन् २०१८ मा आधिकारिक विक्रेताको रूपमा फुटबलबाट सुरु भएको केल्मी अहिले क्रिकेट, भलिबल, मार्सल आर्ट्स लगायतका सबै खेलसम्म पुग्न सफल भएको छ। हामी केवल व्यापारका लागि मात्र नभई नेपाली खेल र खेलाडीको सम्मानका लागि पनि उत्साहित छौँ।”

भक्तपुर आउटलेटका सञ्चालक ईश्वर गुबाजुले केल्मीका सबै शाखाहरूले आफ्नो आम्दानीको निश्चित हिस्सा खेलकुद र खेलाडीहरूको हितमा खर्च गर्दै आएको जानकारी दिए। “हामीले वार्षिकोत्सवको खुसीयाली खेलाडीहरूलाई प्रोत्साहन र सम्मान गरेर मनाउने परम्परा बसाएका हौँ,” गुबाजुले भने।

नेपाली राष्ट्रिय फुटबल टोलीकी सदस्य अञ्जना रानामगरले बजारमा धेरै ब्राण्ड भए पनि खेलकुद क्षेत्रमा केल्मीको योगदान र गुणस्तर अतुलनीय रहेको बताइन्। विगत पाँच वर्षदेखि केल्मीको प्रायोजनमा रहेको न्यु डायमण्ड स्पोर्ट्स क्लबका मुख्य प्रशिक्षक कुमार राई, सहायक प्रशिक्षक ललिता नाथ र खेलाडी सलिना श्रेष्ठले केल्मीले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे। एनभिए च्याम्पियनसिप जितेपछि पाएको यो सम्मानले टिमलाई थप ऊर्जा प्रदान गरेको उनीहरूको भनाइ थियो।

हाल केल्मीले नेपालका विभिन्न राष्ट्रिय टोली, क्लब र व्यक्तिगत खेलाडीहरूलाई प्रायोजन गर्दै नेपाली खेलकुदको व्यावसायिक विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको