फ्रेन्ड्सको सुखद सुरुआत, भगवती–चर्च ब्वाइज बराबरी


काठमाडौं। फ्रेन्ड्स क्लबले राष्ट्रिय लिगमा विजयी सुरुआत गर्दा श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेड क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार उद्घाटन खेलमा काँक्रेविहार क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा जितसँगै सुरुआत गरेको छ।

फ्रेन्ड्सलाई जित दिलाउन प्रशान्त लक्क्षम, प्रवेश बस्नेत र आशीष चापागाँईले गोल गरे। काँक्रेविहारले एक गोल उपहारमा आएको हो। जितसँगै फ्रेन्ड्सले तीन अंक जोडेको छ।

खेलको छैटौं मिनेटमै काँक्रेविहारले सुरुआती अग्रता लियो। सन्दीप देउवाले प्रहार गरेको बल फ्रेन्ड्सका कमल श्रेष्ठलाई लाग्दै गोलमा परिणत भयो।

३५औं मिनेटमा फ्रेन्ड्सका दिपेश घलेले गरेको प्रहार काँक्रेविहारका गोलकिपर सुपबहादुर शाहीले बचाए। त्यसपछि फ्रेन्ड्सका प्रशान्तले पाएको अवसर पनि सदुपयोग हुन सकेन। प्रशान्तको प्रहार गोलकिपर शाहीले उत्कृष्ट बचाउ गरे।

पहिलो हाफको इन्जुरी समयमा प्रशान्तले गोल गर्दै फ्रेन्ड्सलाई बराबरीमा ल्याए। मौसम सुब्बाको पासमा प्रशान्तले गोल गरेका हुन्।

दोस्रो हाफको ५७औं मिनेटमा फ्रेन्ड्सका आशीषले गरेको प्रहार क्रसबारमा लागेको थियो, जसलाई गोलकिपर शाहीले नियन्त्रणमा लिए। तर, त्यसको दुई मिनेटपछि नै प्रवेशले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए। बस्नेत दोस्रो हाफमा राजेश परियारको स्थानमा मैदान प्रवेश गरेका थिए।

खेलको ९०औं मिनेटमा कमलको पासमा आशीषले गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को सहज जित दिलाए।

यस्तै, अर्को खेलमा भगवती र चर्चले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको