काठमाडौं। मार्वलस र बाल दीक्षा सदन पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
मार्वलसले आयोजक केएमसी ‘बी’ लाई ५१–३५ ले पराजित ग¥यो। मार्वलसको जितमा सिनेप शाहीले १६ अंक योगदान गरे। अर्नव महर्जनको १३ अंक सहयोगमा बाल दीक्षाले सेवा सदनलाई ३८–२८ ले हरायो।
सिनियर ब्वाइजमै गोल्डेनपिकले माइलस्टोनर्ला ४८–३७ ले पाखा लगायो। गोल्डेनपिकका विजय तामाङले १९ स्कोर गरे। सेमिफाइनलमा गोल्डेनपिकको भेट मार्वलससंग हुनेछ । बाल दीक्षाको प्रतिद्वन्द्वी टुंगो लाग्न बाँकी छ। शुक्रबार भीएस निकेतन र काठमाडौं जेभियर्स पब्लिकबीच हुने सिनियर ब्वाइजको अन्तिम क्वाटरफाइनलको विजेताले बाल दीक्षाको सामना गर्ने छ।
जुनियर ब्वाइजमा ग्रिनफिल्डले सनसाइनलाई १९–१५, गोल्डेनपिकले मानाङ्क चिल्ड्रेनलाई २२–१६, ग्रिन लन्सले हिमालीलाई १३–८ र इडेन ब्रिज एकेडेमी (इबीए) ले गोल्डेन फ्लावरलाई ३२–१९ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। ग्रिनफिल्डका किस्मत ढकालले १२, गोल्डेनपिकका सुजल तामाङले ८, ग्रिन लन्सका विजय मगरले ४ र इबीएका प्रसिक श्रेष्ठले १४ स्कोर गरे।
सेमिफाइनलमा ग्रिन लन्सले ग्रिनफिल्ड तथा इबीएले गोल्डेनपिक विरुद्ध खेल्ने छन्। सिनियर गल्र्सको सेमिफाइनल समीकरण यसअघिनै पूरा भइसकेको छ। सेमिफाइनल केएमसी र चेल्सी वल्र्ड स्कुल तथा द चाँदबाग स्कुल र डिफेन्डिङ च्याम्पियन रिब्सबीच हुनेछ।


