नेदरल्याण्ड्स र आयरल्याण्ड विजयी


काठमाडौं। आइसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा नेदरल्याण्ड्स र आयरल्याण्डले विजयी सुरुआत गरेका छन्।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा आयरल्याण्डले पपुवा न्युगिनी (पीएनजी)लाई ४१ रनले पराजित गरेको हो।

आयरल्याण्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको पीएनजीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०६ रनमै सीमित भयो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनाएको थियो।

यस्तै, आइतबारै त्रिवि क्रिकेट रंगशालामा सम्पन्न अर्को खेलमा नेदरल्याण्ड्सले जिम्बाबेलाई २२ रनले पराजित गरेको छ।

नेदरल्याण्ड्सले दिएको १२३ रनको लक्ष्य पछ्याएको जिम्बाबेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सक्यो।

जितसँगै समूह ‘बी’ मा रहेको नेदरल्याण्ड्स दोस्रो स्थानमा उक्लिएको छ। सोही समूहको अर्को खेलमा नेपाललाई पराजित गरेको थाइल्यान्ड शीर्ष स्थानमा रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको