काठमाडौं। एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज महाराजगन्जले ए डिभिजन टोली श्री भगवती क्लबलाई मुख्य प्रायोजन गरेको छ। एक्सपर्ट एजुकेसनका निर्देशक जयराम अर्याल र श्री भगवतीका अध्यक्ष गणेशलाल श्रेष्ठले समझौता पत्रमा हस्ताक्षर गरे।
सम्झौता एक वर्षको रहने बताइएको छ। श्री भगवतीले राष्ट्रिय लिगलगायत खेल्ने सबै प्रतियोगितामा एक्सपर्टको लोगो आफ्नो जर्सीमा प्रयोग गर्नेछ। अब क्लबको नाम एक्सपर्ट एजुकेसन टोखा नगरपालिका श्री भगवती रहने छ।
जारी राष्ट्रिय लिगमा श्री भगवतीले यसअघि एक्सपर्टको लोगो प्रयोग गरेको थिएन। २ खेलमा टोलीले १ अंक जोडेको छ। पहिलो खेलमा चर्च ब्वाइजसँग बराबरी खेलेको श्री भगवती दोस्रो खेलमा जावलाखेल युथ क्लबसँग पराजित भएको थियो। श्री भगवती यसै वर्ष ए डिभिजन लिगमा बढुवा भएको थियो।
एक्सपर्ट एजुकेसनका निर्देशक अर्यालले श्री भगवतीसँग विगतबाट सहकार्य गर्दै आएकोमा अहिले मुख्य प्रायोजकका रुपमा अझै फराकिलो भएर आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरे। उनले खेलकुदमा कुनै जात र धर्म नरहने भएकाले यसले सबैलाई समेट्ने बताए। उनले सहयोगका लागि सधैं तयार रहेको बताए।
श्री भगवतीका अध्यक्ष श्रेष्ठले प्रायोजनका लागि एक्सपर्टलाई धन्यवाद दिए। श्रेष्ठले २०४७ सालमा टोखामा क्लब स्थापना भएको स्मरण गर्दै टोली ए डिभिजनमा पुग्नुमा टोखा नगरपालिका र त्यसका सबै वडाको सहयोग रहेको बताए।
श्री भगवतीका कप्तान अशोक खवासले हौसला र साथका लागि एक्सपर्टलाई धन्यवाद दिए। उनले आफूहरुबाट गरिएको आशा पूरा गर्न र क्लबको परिचय बनाउन कोशिस गर्ने प्रतिबद्धता व्यक्त गरे । श्री भगवतीका पूर्व अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य मनिष जोशीले यो सम्झौताले खेलकुद र शिक्षा को सहकार्य भएको बताउदै बी डिभिजनदेखि नै एक्सपर्टको सहयोग रहेको स्मरण गरे।
नेपालयका सुबासचन्द्र प्रधानले फुटबललगायत खेलकुदका अन्य प्रतियोगिता आयोजनाका लागि एक्सपर्टको सधैं साथ रहने रहेको स्मरण गरे। उनले श्री भगवतीलाई सफलताको शुभकामना दिए। सोही अवसरमा एक्सपर्टले टोलीका खेलाडीलाई गिफ्ट ह्याम्पर प्रदान गरेको थियो।


