पोखरा। छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा आर्मीले पर्वतलाई ३–२ को सेटमा पराजित गरेको हो।
पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट १५–२५ ले गुमायो । तेस्रो सेटमा २५–२२ ले जित निकालेको आर्मीले चौथो सेटमा पुनः १३–२५ ले पर्वतलाई सुम्पिदा खेल पाँचौं सेटमा धकेलियो। निकै प्रतिष्पर्धात्मक भएको पाँचौं सेटमा आर्मीले २०–१८ जित निकाल्दै खेल आफ्नो पक्षमा पा¥यो।
जितसँगै आर्मीले ४ खेलबाट ५ अंक जोडेको छ। पराजित भएको पर्वतले ४ खेलबाट ९ अंक बनाएको छ। समान ४ खेल खेलेको गण्डकीको ९ अंक छ। ४ खेल खेलेको पुलिसको ७, एपीएफको ६ अंक हुँदा माल्दिभ्स अंकविहिन छ।
यसअघि आजै भएको महिलातर्फका खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लबले जित निकालेका थिए। न्यू डायमण्डले थाइल्याण्ड क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। यस्तै पुलिसले एपीएफविरुद्ध ३–० को सोझो सेटको जित निकालेको थियो। महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड र पुलिसले प्रतिष्पर्धा गर्नेछन्। पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
च्याम्पियनसिपअन्तर्गत भोलि बिहीबार ३ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ तेस्रो स्थानका लागि एपीएफ र थाइल्याण्ड क्विन्स भिड्नेछन्। उक्त खेल बिहान १० बजेबाट सुरु हुनेछ । त्यसपछि पुरुषतर्फ पुलिस र माल्दिभ्स खेल्नेछन् । पुरुषतर्फको दोस्रो तथा अन्तिम खेल आर्मी र एपीएफबिच हुने तालिका छ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्। शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्।


