काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइची–नागोया एसियाली खेलकुदको तयारीस्वरूप सहभागी खेलाडी तथा अफिसियलहरूका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
नेसनल ओलम्पिक एकेडेमी (एनओए) सँगको सहकार्यमा मंगलबार एनओसी भवनमा आयोजित कार्यक्रममा सुरक्षित, सम्मानजनक र समावेशी खेलकुद वातावरण निर्माणका विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङले खेलकुदमा संलग्न सबैका लागि सुरक्षित वातावरण सुनिश्चित गर्नु आवश्यक रहेको बताए।
अभिमुखीकरणमा एकेडेमीका निर्देशक सुजनलाल श्रेष्ठ तथा सदस्यद्वय प्रतिभा जोशी र डा. प्रमिला थापाले खेलकुदमा सुरक्षाका आधारभूत सिद्धान्त, उत्पीडन तथा दुर्व्यवहारको रोकथाम, खेलाडीको अधिकार र कल्याण तथा सुरक्षित खेलकुद वातावरण प्रवर्द्धनमा सरोकारवालाको भूमिकाबारे प्रस्तुति दिएका थिए।
सोही अवसरमा एनओसीका सहमहासचिव रामजीबहादुर श्रेष्ठलाई आगामी आइची–नागोया एसियाली खेलकुदका लागि नेपालको सुरक्षा अधिकारी नियुक्त गरिएको जानकारी पनि दिइएको थियो।
कार्यक्रमको पहिलो सत्रमा पौडी, ब्याडमिन्टन, धनुर्विद्या, कबड्डी र टेबलटेनिसका प्रशिक्षक, प्रबन्धक तथा खेलाडी सहभागी थिए भने दोस्रो सत्रमा जुडो, तेक्वान्दो, टेबलटेनिस, भलिबल, बक्सिङ र स्क्वासका प्रतिनिधिहरू सहभागी भएका थिए।
एनओसीका अनुसार एसियाडमा प्रस्थान गर्नुअघि टोलीका सबै सदस्यलाई सुरक्षा नीति र अभ्यासबारे जानकारी गराउने उद्देश्यले बाँकी खेलका लागि पनि यस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ।